वाणिज्य बैंकहरूको नाफा घट्नुका कारण
14 Mar 2012रियलस्टेट, यातायातजस्ता क्षेत्रमा प्रदान गरिएका कर्जाको गुणस्तर खस्किँदै गएको आभास मिल्दै थियो, तैपनि बैंकहरूको नाफा निरन्तर बढ्दै गइरहेको थियो । निष्क्रिय कर्जामा खासै वृद्घि भएको थिएन । त्यसैले, बैंकिङ क्षेत्रमा अप्ठ्यारो आएको छ भनेर मान्न धेरै व्यक्ति तयार थिएनन् । तर, यस क्षेत्रमा पनि अप्ठ्यारो आएको छ भनेर मान्न बाध्य पा¥यो यस पटक बैंकहरूले प्रकाशित गरेका अर्धवार्षिक वित्तीय विवरणले ।
निरन्तर रूपमा बढ्दै आइरहेको वाणिज्य बैंकहरूको नाफा चालू आर्थिक वर्षमा आएर घट्न पुग्यो । बैंकहरूले प्रकाशित गरेको अर्धवार्षिक वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू आवको दोस्रो त्रैमासको अन्त्यसम्ममा सञ्चालन नाफा ३५ प्रतिशत (रु. ३ अर्ब) ले घट्यो । त्यस्तैगरी, खुद नाफा २६ प्रतिशत (रु. १ अर्ब ८६ करोड) ले घट्यो । नाफा एक्कासि किन घट्यो, त्यसका बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
लगानीका अवसर कम हुनु
गत आवको १ वर्षमा रु. ५८ अर्बले मात्र बढेको निक्षेप चालू आवको प्रथम ६ महिनामै रु. ७४ अर्बले बढ्यो र जम्मा निक्षेप रु. ६२० अर्बबाट रु. ७६१ अर्ब पुग्यो । तीव्र गतिमा निक्षेप वृद्घि भएपछि यो वृद्घि छोटो समयका लागि मात्र बढेको हो कि भन्ने शंका कायम रह्यो । कर्जा विस्तारका लागि त्यति अवसर आएनन् । रु. ७४ अर्बले निक्षेप बढ्दा कर्जा भने रु. ३२ अर्बले मात्र बढेर कुल कर्जा रु. ५२१ अर्बबाट रु. ५५३ अर्ब पुग्यो । निक्षेपको तुलनामा कर्जा नबढेपछि बैंकहरूको ब्याज आम्दानीको वृद्घिदरमा कमी आयो ।
गत वर्ष एउटा वित्तीय संस्था समस्यामा परेपछि सो संस्थालाई प्रदान गरेको अन्तरबैंकिङ कर्जा भुक्तानी अवधिको समाप्तिमा फिर्ता नआएपछि बैंकहरू अप्ठ्यारोमा परे, जुन घटनाले अन्तरबैंकिङ कर्जा लगानीका लागि अविश्वासको वातावरण सिर्जना ग¥यो । त्यसपछि यस्ता लगानी प्रायः ठप्प हुन पुगे । जति लगानी सम्भव हुन सक्यो, त्यसमा पनि ब्याज आम्दानी औसत रूपमा वार्षिक ०.९० प्रतिशतका दरले भयो । जबकि गत वर्ष सोही अवधिमा आम्दानी वार्षिक १०.५८ प्रतिशतले भएको थियो, जसले बैंकहरूको आम्दानीमा समेत प्रभावित पा¥यो ।
ट्रेजरी बिल्सको निष्कासन बजेटमा व्यवस्था भएअनुसार हुन्छ । त्यसैले बैंकहरूसँग भएको लगानीयोग्य रकमलाई खाम्ने गरी ट्रेजरी बिल्स निष्कासन हुने कुरा भएन । निष्कासन भएको ट्रेजरी बिल्समा पनि नगण्य रूपमा वार्षिक ०.१४ प्रतिशतदेखि करिब ३.५ प्रतिशतसम्म मात्र ब्याज आउन गरी लगानी सम्भब हुन सक्यो । चालू आवको प्रथम ६ महिनामा ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर मात्र ०.७० प्रतिशत रहन पुग्यो । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो ब्याजदर ८.२१ प्रतिशत थियो । १२ प्रतिशतसम्म वार्षिक ब्याज तिरेर निक्षेप स्वीकार गरिरहेका बैंकहरूलाई अन्तर बैंक कारोबार झन्डै ठप्प हुनु र ट्रेजरी बिल्समा नगण्य आम्दानी हुनुले पनि आम्दानीमा प्रत्यक्ष असर पु¥यायो ।
४० प्रतिशत अग्रिम आयकर दाखिला गर्नुपर्ने भएकाले पुस महिनामा बैंकहरूमा भएको रकम उक्त प्रयोजनका लागि निकालिने गरिन्छ, जुन सरकारी खातामा जम्मा हुन जान्छ । त्यसैले, विगतका वर्षहरूमा बैंकहरूको निक्षेप पुस महिनामा करिब ३ अर्बदेख रु. ४ अर्बले घट्थ्यो । तर, यस पटकमात्र रु. २ अर्बले घट्यो र पुनः निरन्तर रूपमा बढ्ने क्रम जारी रह्यो, जसले अब निरन्तर रूपमा निक्षेप बढ्ने सकारात्मक संकेत दिँदै पनि छ र दुई वर्षदेखि कायम रहेको तरलता समस्यामा भरपर्दो रूपमा सुधार आउँछ भन्ने कुरामा बैंकरहरूलाई केही आत्मबल पनि दिँदैछ । यस किसिमको सकारात्मक संकेतले कर्जा विस्तार र आर्थिक क्रियाकलाप भने वृद्घि हुँदै जाने थप संकेत पनि मिल्दै गएको छ ।
नगद तथा बैंक मौज्दात बढ्नु
गत एक वर्षमा बैंकहरूको नगद र बैंक मौज्दात बढ्न पुग्यो । वैदेशिक व्यापारको आवश्यकताअनुसार विदेशी बैंकमा राखिने ‘प्लेसमेन्ट’ मा आउने नगन्य ब्याजबाहेक बैंकको ढुकुटी र एटीएममा रहने नगद तथा नेपाल राष्ट्र बैंक र अन्य बैंकमा राखिने रकममा कुनै ब्याज आम्दानी हुँदैन । त्यसैले, नगद र बैंक मौज्दातको वृद्घिले बैंकहरूको आम्दानीमा यस वर्ष प्रत्यक्ष प्रभावित पा¥यो । गत आवको पुस मसान्तमा रु. ६५ अर्ब भएको नगद तथा बैंक मौज्दात चालू आवको पुस मसान्तसम्ममा ८० प्रतिशतले वृद्घि भई रु. ११६ अर्ब पुग्यो र बैंकहरूको आम्दानीलाई प्रत्यक्ष प्रभावितसमेत पा¥यो ।
ब्याज खर्च बढ्नु
यस वर्ष वाणिज्य बैंकहरूको ब्याज खर्च ह्वात्तै बढ्यो । गत वर्षको पहिलो ६ महिनाको तुलनामा करिब ६ अर्ब अर्थात् ३० प्रतिशतले वृद्घि भइ ब्याज खर्च रु. २५ अर्ब पुग्यो । जबकि सोही अवधिमा ब्याज आम्दानी करिब ५ अर्ब अर्थात् १६ प्रतिशतले मात्र वृद्घि भई रु. ३९ अर्ब पुग्यो । निक्षेपका अतिरिक्त बैंकहरूको आफ्नो स्वपुँजीसमेतको परिचालनबाट ब्याज आम्दानी हुन्छ । गत वर्ष रु. ५५ अर्ब रहेको बैंकहरूको स्वपुँजी यस वर्ष १७ अर्बले बढेर रु. ७२ अर्ब पुगेको छ । ब्याज तिर्नु नपर्ने स्वपुँजी ३१ प्रतिशतले बढ्दा पनि ब्याज खर्च ३० प्रतिशतले बढ्नु, तर ब्याज आम्दानी भने १६ प्रतिशत मात्रले बढ्नुले बैंकहरूको नाफामा यस अवधिमा ब्याज खर्चले कसरी प्रभावित ग¥यो भन्ने स्पष्ट हुन्छ ।
तरलता अभावका कारण यसको व्यवस्थापनका लागि गत वर्ष बैंकहरूले अनेकौं चुनौतीको सामना गर्नुप¥यो । त्यसैले चालू आवको पहिलो तीन महिनामा १२ प्रतिशतसम्म ब्याज तिरेर निक्षेप स्वीकार गरी सहज रूपमा तरलता व्यवस्थापन गर्ने रणनीति लिए बैंकहरूले । तर, माथि उल्लेख गरिएका कारणले गर्दा यसको आम्दानी हुने क्षेत्रमा लगानी गर्ने अवसर भने पाएनन् । यसरी ब्याज खर्च वृद्घि हुँदै गयो । तर, आम्दानीको दायरा साँगुरो भएकाले नाफा भने घट्दै गयो ।
अर्कातिर विभिन्न बचत खाताहरूबीचको ब्याजदरमा २ प्रतिशत भन्दा बढीको फरक गर्न नहुने भन्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई बैंकहरूले चालू आवको सुरुबाट लागू गरे । तरलता अभावले २ वर्षदेखि तर्सिरहेका बैंकहरूले माथिल्लो ‘ब्यान्ड’ का ब्याजदर घटाएर अन्तर कम गर्ने विकल्प रोज्न सकेनन् । त्यसैले, तल्लो ‘ब्यान्ड’ का ब्याजदर बढाएर माथिल्लो ‘ब्यान्ड’ मा रहेका ब्याजदरसँग समायोजन हुने गरी बैंकहरूले नियमन निकायको निर्देशनलाई लागू गरे । यसले ग्राहकहरूलाई ९ प्रतिशतसम्म ब्याज आर्जन गर्ने अवसर प्रदान ग¥यो । तर, बैंकहरूको ब्याज खर्च भने बढाइदियो र नाफालाई पनि घटाइदियो ।
कर्जा नोक्सानी व्यवस्था बढ्नु
केही वर्षयता देशका विभिन्न आर्थिक सूचकहरूले सकारात्मक संकेत दिइरहेका थिएनन् । यस्तो अवस्थामा बैंकिङ क्षेत्रले मात्र राम्रो गर्नु आफैंमा अस्वाभाविक हुन्थ्यो । रियलस्टेट, यातायातजस्ता क्षेत्रमा प्रदान गरिएका कर्जाको गुणस्तर खस्किँदै गएको आभास मिल्दै थियो, तैपनि बैंकहरूको नाफा निरन्तर बढ्दै गइरहेको थियो । निष्क्रिय कर्जामा खासै वृद्घि भएको थिएन । त्यसैले, बैंकिङ क्षेत्रमा अप्ठ्यारो आएको छ भनेर मान्न धेरै व्यक्ति तयार थिएनन् । तर, यस क्षेत्रमा पनि अप्ठ्यारो आएको छ भनेर मान्न बाध्य पा¥यो यस पटक बैंकहरूले प्रकाशित गरेका अर्धवार्षिक वित्तीय विवरणले । कर्जा नोक्सानी व्यवस्था गत वर्षको तुलनामा ७७ प्रतिशतले बढ्यो, जसको प्रत्यक्ष असर खुद नाफामा पर्न गयो र खुद नाफा २६ प्रतिशतले घट्ने एउटा कारक कर्जा नोक्सानी व्यवस्था पनि हुन पुग्यो ।
जोखिम बढ्न सक्ने सम्भावना
एउटा सकारात्मक पक्ष, निक्षेप वृद्घि भइरहेको छ । अर्काे सोचनीय विषय, नाफा भने घट्दै गइरहेको छ । नाफामा घटेकाले सेयरहोल्डरहरूले चासो लिन सुरु गरिसकेका छन् । प्रमुख कार्यकारीहरूलाई नाफा बढाउने चिन्ताले सताउन थालिसकेको छ । छोटो अवधिका कर्जाको ‘पुस सेल’ र अन्य कर्जामा ‘प्राइस वार’ सुरु भइसकेको छ । यस्ता ‘पुस सेल’ तथा ‘प्राइस वार’ र नाफा बढाउनुपर्ने दबाबले अस्वस्थ प्रतिस्पर्धालाई टेवा दिन्छ र अल्पकालीन फाइदाका लागि अनावश्यक जोखिम उठाउनेहरूलाई उत्प्रेरित गर्छ । हुन त अत्याधिक कर्जा विस्तारका लागि पुँजी पर्याप्तता, कर्जा–निक्षेप अनुपात, तरलता अनुपात कायम गर्नुपर्नेजस्ता नेपाल राष्ट्र बैंकका निर्देशनले स्वतः अंकुश लगाइहाल्छ । तथापि, जसरी पनि कर्जा विस्तार गर्नुपर्छ र आम्दानी बढाउनुपर्छ भन्ने अल्पकालीन रणनीतिबाट बैंकहरू पथ–प्रदर्शित भए भने यसले विगतमा जस्तै पुनः जोखिमहरू नबढ्लान भन्न सकिन्न । अर्कातिर, निक्षेपमा पनि ह्वात्तै ब्याज घटाइयो भने यसले पुनः निक्षेपकर्तालाई निरुत्साहित गर्न सक्छ, जसको असर फेरि निक्षेप परिचालनमा पर्न सक्छ ।
निक्षेप वृद्घि भयो भनेर आत्तिँदै स्वात्तै ब्याजदर घटाउन हतार गर्नुपर्ने बेला अझै आएको छैन । नाफा घट्यो भनेर आम्दानी बढाउन अत्यधिक कर्जा विस्तार गर्ने उपयुक्त समय पनि होइन अहिले । बरु, अप्ठ्यारो समय भएकाले कर्जा र सञ्चालन जोखिम व्यवस्थापनलाई अझ सशक्त र प्रभावकारी बनाउने, कर्जाको गुणस्तर कायम राख्ने र तरलताका दृष्टिकोणबाट सहज अवस्थामा रहने समय हो अहिलेको । राजनीतिक स्थिरता कायम भएपछि र आर्थिक क्रियाकलापहरूले गति लिएपछि नाफा बढाउने दिन त आइहाल्छ नै ।
(घर्ती, किष्ट बैंक लिमिटेडका नायब–महाप्रबन्धक हुन् । व्यक्त विचार लेखकका निजी हुन् ।
source: Karobar Daily